१० महिनामै वाणिज्य बैंकहरूको नाफा ५६ अर्ब नाघ्यो, कुमारीको छलाङ, प्रभुको कमाइमा दबाब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१० महिनामै वाणिज्य बैंकहरूको नाफा ५६ अर्ब नाघ्यो, कुमारीको छलाङ, प्रभुको कमाइमा दबाब



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वाणिज्य बैंकले वैशाख मसान्तसम्म कुल ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँको तुलनामा १८.१६ प्रतिशत बढी हो। बैंकिङ प्रणालीमा कर्जा असुली सुधार, खराब कर्जा व्यवस्थापनमा प्रगति तथा सञ्चालन खर्च नियन्त्रणका कारण बैंकहरूको नाफा बढ्न पुगेको विश्लेषण गरिएको छ।

तथ्यांकअनुसार २० मध्ये १३ वाणिज्य बैंकले आफ्नो नाफा बढाएका छन् भने ७ बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ।

सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले १० महिनामा ७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ३६.३७ प्रतिशत बढी हो।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ। यद्यपि, बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा ३.०७ प्रतिशतले घटेको देखिएको छ।

त्यसपछि कुमारी बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८० करोड रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ७० करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले ३ अर्ब ४० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

त्यस्तै एनएमबी बैंकले ३ अर्ब १४ करोड रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब ६८ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ४६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ३८ करोड रुपैयाँ तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएका छन्।

नाफाको आधारमा मध्यम समूहमा रहेका माछापुच्छ्रे बैंकले १ अर्ब ८८ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६८ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४९ करोड रुपैयाँ र प्रभु बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

सबैभन्दा कम नाफा कमाउने बैंकहरूमा हिमालयन बैंक र एनआईसी एशिया बैंक देखिएका छन्। हिमालयन बैंकले ८० करोड २८ लाख रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकको नाफा ३३ करोड रुपैयाँमा सीमित भएको छ।

नाफा वृद्धिदरका हिसाबले भने कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत वर्षको तुलनामा ८३३ प्रतिशतको उच्च नाफा वृद्धि हासिल गरेको छ।

अर्कोतर्फ, प्रभु बैंकको नाफा सबैभन्दा धेरै घटेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४१.७० प्रतिशतले खुम्चिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

बैंकिङ क्षेत्रको समग्र नाफा बढे पनि सबै बैंकको अवस्था समान छैन। केही बैंकले खराब कर्जा घटाउँदै आम्दानी बढाएका छन् भने केही बैंक अझै कर्जा गुणस्तर र आम्दानी दबाबको चुनौतीसँग जुधिरहेका देखिन्छन्।

प्रकाशित : 14 June, 2026 3:04 pm