छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस



काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ । 

यस अघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवम् आरक्षण र समूहगत रूपमा तोकिएको सिट संख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो । 

मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपीमा छात्रवृत्ति परीक्षाको रोल नम्बर ९महानगरबाट प्रदान गरिएको०, जन्म मिति र पासवर्ड ९मोबाइल वा इमेलमा प्राप्त० प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सकिन्छ । यो मनोनयन पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ । 

तोकिएको समय सीमा भित्र भर्ना नभएमा सम्बन्धित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको दाबी स्वतः रद्द हुने परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिए । उनका अनुसार मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न पाइँदैन । 

प्रकाशित सूची अनुसार शिक्षामा ६ जना, मानविकीमा १२ जना, कानुनमा ५० जना, व्यवस्थापनमा १ हजार ४०१ जना र विज्ञानमा २ हजार २६६ गरी ३ हजार ७३५ जनाको नाम सिफारिस भएको छ । 

यसमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८ जना, महानगरभित्रका स्थायी बासीबाट ४९२ जना, सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नेबाट १ हजार ५४५ जना, संस्थागत विद्यालयबाट एसइई उत्तीर्ण गर्नेबाट ४८१ जना, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३ जना, आदिवासी जनजातिबाट १७३ जना, खस आर्यबाट १९७ जना, छात्रा कोटाबाट ४४० जना विद्यार्थी सिफारिसमा परेका छन् । 

यसैगरी, थारुबाट ३९ जना, दलितबाट ९६ जना, पिछडिएको क्षेत्रबाट ४६ जना, मधेसीबाट १४९ जना, मुस्लिमबाट २२ जना र सहिद, वेपत्ता पारिएकाका परिवार, जेन्जी आन्दोलन, द्वन्द्व पीडित परिवारबाट १४ जना विद्यार्थी सिफारिसमा परेका छन् ।  

यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थाका लागि ४ हजार ८५७ कोटा निर्धारण गरिएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए । 

यसमा विज्ञान विषयका लागि २ हजार ३७१ कोटा छन् । व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयहरूमा १८ हजार ३५८ जना, २ हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो । 

प्रकाशित : 6 June, 2026 11:40 am