रसुवागढी जलविद्युत् केन्द्र २२ दिन बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रसुवागढी जलविद्युत् केन्द्र २२ दिन बन्द हुने



काठमाडौं रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द हुने जनाएको छ। कम्पनीले जारी गरेको सुचना अनुसार गत चैत २४ गते आएको ठूलो हिमबाढीका कारण आयोजना संरचना तथा मेसिन उपकरणमा क्षति पुगेको थियो।

क्षतिग्रस्त संरचना तथा उपकरणहरूको पुनःस्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गर्न कम्पनीले आगामी जेठ २२ गतेदेखि असार १३ गतेसम्म (५ जुन देखि २७ जुन २०२५ सम्म) विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गर्ने भएको हो।

कम्पनीका अनुसार हाल तीनवटा युनिटमार्फत आंशिक रूपमा विद्युत् उत्पादन भइरहेको छ। आगामी वर्षायाममा समेत पूर्ण क्षमतामा उत्पादन सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनर्निर्माण कार्य गर्न विद्युत् प्राधिकरणबाट उत्पादन बन्द गर्ने स्वीकृति प्राप्त गरिएको जनाएको छ।

यद्यपि, कार्यको प्रगतिअनुसार स्वीकृत अवधिभित्रै सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। परिस्थितिअनुसार उत्पादन बन्द रहने अवधि केही परिवर्तन हुन सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित : 4 June, 2026 2:12 pm