काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ २१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। साथै, १ लाख ७१ हजार कित्ता कम्पनीका कर्मचारी तथा २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।
हाल सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याइएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इक्रा नेपालले इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सानिगाड हाइड्रोले निर्माण गरेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना को कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष तथा डिस्काउन्ट आधारमा १४.६९ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।






Comment