७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अटो

७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले नेपाल न्यूज बैंकलाई दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो ।

बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सबै गाडी बीबाईडी ब्रान्डका रहेको उनले बताए । उनले अधिकांश सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘करको दर हेरफेर भएको सूचना लिक भएको आशंकामा थप छानबिनका लागि सवारीसाधन नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढाइनेछ ।’

यस विषयमा थप जानकारी लिन न्यूज बैंकले विद्युतीय गाडीको ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनको मोवाईल स्वीच अफ रहेको थियो । प्राप्त सूचनाअनुसार भन्सारका कर्मचारी, भन्सार एजेन्ट तथा व्यापारीबीचको सम्भावित मिलेमतोमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै सवारीसाधन जाँचपास गरी भित्र्याइएको आशंकापछि सरकारी निकायहरू सक्रिय भएका थिए ।

सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनसम्बन्धी कर संरचनामा हेरफेर गरेको छ । सोही परिवर्तनबाट लाभ लिन बजेटअघि ठूलो संख्यामा सवारीसाधन आयात गरिएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८३, बिहिबार १३:१७ 4 June, 2026 1:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।