मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन



जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् ।

विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज) विभिन्न नारा लगाउँदै धनुषा जिल्ला अदालत अगाडि सडक अवरुद्ध गर्नुका साथै विरोध प्रदर्शनसमेत गरेका छन् ।

सो क्रममा उनीहरुले ‘मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर’, ’सुदखोरलाई कारबाही गर’, ’अदालतको एकलौटी फैसलाको आधारमा पक्राउ गर्न पाईदैन’, ’अदालत/प्रहरी/प्रशासनको दमन बन्द गर’, ’होम्रो माग पूरा गर’, ‘दफा २४९ (क) लागु गर’ लगायतका नारा लगाएका छन् ।

रास्वपा नेतृत्वको सरकार निर्माण भएदेखि मिटरब्याज पीडितहरुमाथि पहिले भन्दा बढि दमन हुन लागेको मिटरब्याजविरुद्ध किसान मजदुर नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहले बताए ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह जनकपुर आउँदा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने वाचा गरेपनि हालसम्म उल्टै दमन नै भोग्नु परिरहेको सुनाए ।

मिटरब्याजीहरुले १ लाख रकम दिएर तीन लाखको कागज बनाउने गरेको सबैलाई थाहा हुँदाहुँदै अदालतले उनीहरुलाई कारबाही गर्नुको साटो उल्टै पीडितलाई थुन्ने सम्मको आदेश दिनु गलत रहेको अध्यक्ष कुशवाहाको भनाई छ ।

उनले अब पनि सरकारले मिटरब्याज पीडितहरुलाई न्याय नदिए सम्पूर्ण पीडितहरु केन्द्रमा गएर अनिश्तिकालिन आन्दोलन गर्नुको विकल्प नहुने जानकारी दिए ।

अध्यक्ष कुशवाहाका अनुसार देशभर पाँच लाखभन्दा बढी मिटरब्याज पीडितहरु रहेकोमा धनुषामा मात्र ७० हजार भन्दा बढी पीडितहरु रहेका छन् ।

प्रकाशित : 2 June, 2026 6:44 pm