रौतहट । मौसम नसकिँदै रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ । सदरमुकाम गौर, गरुडा, कटहरिया र चन्द्रपुर (चन्द्रनिगाहपुर) का मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (कैल्सियम कार्बाइड) रसायन प्रयोग गरिएका आँप छ्यापछ्याप्ती भेटिएका हुन् ।
नेपालमा प्राकृतिक रूपमा आँप पाक्ने समय असार महिना भएपनि व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले जेठ महिनामै कृत्रिम रूपमा पकाइएका पहेँला आँप बजारमा सजाएर राखेका छन्।
स्थानीय उपभोक्ताका अनुसार यस्ता अस्वस्थकर आँप बजारमा प्रति किलो २ सय रुपैयाँदेखि २ सय ४० रुपैयाँसम्ममा उच्च मूल्यमा बिक्री भइरहेको छ । बजारमा जनस्वास्थ्यमाथि यसरी गम्भीर खेलबाड भइरहँदा पनि नियमनकारी निकाय भने मौन बसेको चन्द्रपुरका स्थानीय दिपेन्द्र मिश्रको आरोप छ ।
उपभोक्ताहरूको हकहित संरक्षणका लागि भन्दै गठन गरिएको उपभोक्ता संरक्षण मञ्च र स्थानीय पालिकाका बजार अनुगमन टोलीहरू बजारमा देखिएको यो बेथितिप्रति पूर्ण रूपमा उदासीन बनेका छन् ।
उनी भन्छन्, ‘बजारमा विष जस्तो आँप बिक्री भइरहेको सबैलाई थाहा छ, तर पालिकाको अनुगमन टोली र प्रशासनले ध्यान दिएको छैन । अहिले उपभोक्ताहरू चर्को मूल्य तिरेर बिरामी पार्ने फलफूल किन्न बाध्य छन्।’
नेपाली बजारमा अझै स्थानीय आँप पाकिसकेका छैनन् । बजारमा उपलब्ध अधिकांश आँप सीमावर्ती भारतीय बजारबाट सस्तो मूल्यमा कच्चा अवस्थामै आयात गरिएका हुन् ।
भारतीय भन्सार नाकाहरूबाट कच्चा आँप भित्र्याएर स्थानीय गोदाम र घुम्ती पसलहरूमा कार्बाइडको प्रयोग गरी एकै रातमा पहेंलो र आकर्षक बनाइने गरेको जानकारहरू बताउँछन्। कृत्रिम रूपमा कार्बाइड हालेर पकाइएको आँप सेवन गर्नु स्वास्थ्यका लागि निकै घातक हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
बजारमा मौलाएको यो कालोबजारी र जनस्वास्थ्यमाथिको खेलबाड रोक्न जिल्ला प्रशासन कार्यालय रौतहटले गौर, गरुडा, कटहरिया र चन्द्रपुर नगरपालिकाले संयुक्त रूपमा तत्काल आकस्मिक बजार अनुगमन सुरु गर्नुपर्ने माग उठिरहेको छ।






Comment