काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुँदै



काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी २०८३ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।

नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमार्फत उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराइने बताइएको छ । साथै नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादन प्रवद्र्धन, विदेशी लगानी तथा प्रविधि आकर्षण, व्यवसायिक नेटवर्क विस्तार र अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कण्डक्टर, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ ।

आयोजकका अनुसार प्रदर्शनी उपभोक्ताका लागि आधुनिक प्रविधि, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर हुनेछ । एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको अनुभव गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रदर्शक कम्पनीहरूका लागि ‘फिन इलेक्ट्रो–टेक २०२६’ ब्राण्ड प्रवद्र्धन, नयाँ उत्पादन सार्वजनिक, व्यवसायिक नेटवर्क विस्तार तथा सम्भावित ग्राहक र वितरकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्ने प्रभावकारी प्लेटफर्म बन्ने विश्वास लिइएको छ । आयोजकका अनुसार प्रदर्शनीका सम्पूर्ण स्टल बुकिङ भइसकेका छन् ।

प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने ‘पावर बाई’ मा ह्याभेल्स (ह्याभेल्स इन्डिया लिमिटेड) रहेको छ । प्लेटिनम स्पोन्सरमा जनता के.इ.आई. (जनता केबल इन्डस्ट्रिज प्रा. लि.), डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट इलेक्ट्रीकल्स रहेका छन् । गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलईडी रहेको छ ।

यसैगरी अफिसियल बैंकमा नविल बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड तथा अफिसियल क्यारियरमा एस.के.बी ग्रुप रहेका छन् । टेक्नोलोजी पार्टनरमा जुलाई टेक ल्याब्स र इन्टरनेट पार्टनरमा सजिलो नेट रहेको छ । प्रदर्शनी व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग तथा सहभागिता रहने प्रदर्शनीमा देश तथा विदेशबाट उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रकाशित : 28 May, 2026 1:09 pm