पूँजी बजार सुधारका लागि मर्चेन्ट बैंकर्स संघका ३० भन्दा बढी नीतिगत सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पूँजी बजार सुधारका लागि मर्चेन्ट बैंकर्स संघका ३० भन्दा बढी नीतिगत सुझाव



काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघ एमब्यानले नेपालको पूँजी बजारलाई आधुनिक, पारदर्शी, प्रतिस्पर्धी तथा लगानीमैत्री बनाउन सरकारसमक्ष विस्तृत नीतिगत सुझाव पेश गरेको छ। संघले अर्थमन्त्रीसमक्ष पेश गरेको सुझावमा पूँजी बजार सुधार, नियामकीय विकास, म्युचुअल फण्ड, निजी इक्विटी तथा कर नीतिसम्बन्धी विभिन्न विषय समेटिएका छन्।

संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को आधुनिकीकरण गर्दै उन्नत बजार उपकरण लागू गर्नुपर्ने, गैरआवासीय नेपाली लगानीकर्तालाई दोस्रो बजारमा सहज रूपमा खाता खोल्ने व्यवस्था गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थालाई पूँजी बजार कारोबारमा सहज प्रवेश र बहिर्गमनको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।

त्यस्तै, पूँजी बजारलाई पूर्णरूपमा अनलाइन रिपोर्टिङ प्रणालीमा लैजान, अनलाइन अक्सन प्रणाली विकास गर्न तथा सीडीएससी प्रणालीलाई थप स्तरोन्नति गर्नुपर्नेमा जोड दिइएको छ।

संघले पूँजी बजार विकासका लागि संस्थागत संरचना निर्माण, कर्मचारी र लगानी सल्लाहकारका लागि औपचारिक प्रमाणीकरण परीक्षा प्रणाली लागू गर्नुपर्ने तथा पूँजी बजार विश्लेषकका लागि पनि अनुमति र प्रमाणीकरण प्रणाली आवश्यक रहेको उल्लेख गरेको छ। साथै, सूचीकृत कम्पनीहरूले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा ‘Earnings Call’ र ‘Analyst Meet’ अनिवार्य गर्नुपर्ने सुझाव पनि दिएको छ।

कर तथा वित्तीय नीतितर्फ संघले पूँजीगत लाभकरलाई अन्तिम करको रूपमा व्यवस्था गर्न माग गरेको छ। आईपीओ, एफपीओ तथा सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्दै इक्विटी क्राउडफन्डिङलाई कानुनी मान्यता दिनुपर्ने र न्यूनतम १० प्रतिशत सार्वजनिक निष्कासनसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने सुझाव पनि समेटिएको छ।

म्युचुअल फण्ड तथा सम्पत्ति व्यवस्थापन क्षेत्र सुधारअन्तर्गत खुलामुखी म्युचुअल फण्डका इकाइधनीलाई कर छुट सुविधा दिनुपर्ने, Seed Capital सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्नुपर्ने तथा PMS ग्राहकलाई Bulk Share Trading सुविधा सहज रूपमा सञ्चालन गर्न विशेष नियामकीय व्यवस्था आवश्यक रहेको संघको भनाइ छ।

संघले म्युचुअल फण्डलाई आफ्नो पोर्टफोलियोको २५ प्रतिशतसम्म वैदेशिक बजारमा लगानी गर्न अनुमति दिनुपर्ने तथा निजी इक्विटी फण्डलाई पनि म्युचुअल फण्डसरह कर छुट सुविधा उपलब्ध गराउन माग गरेको छ।

एमब्यानले यसअघि पूर्वअर्थमन्त्रीसमक्ष पेश गरिएको “Capital Market Reform Plan” लाई पुनरावलोकन गरी कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरेको छ। संघले आफ्ना सुझाव कार्यान्वयन भए नेपालको पूँजी बजार थप आधुनिक, विश्वसनीय तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बन्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : 27 May, 2026 11:56 am