काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले नेपालमा विद्युतीय सवारी साधनको मोटर क्षमता सम्बन्धमा पछिल्लो समय भइरहेका विभिन्न टिप्पणी, चर्चा र व्याख्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमार्फत नाइमाले इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको उल्लेख गरेको हो। यस विषयमा यसअघि अर्थमन्त्री, उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलमा समेत नाइमाले आफ्नो धारणा राखिसकेको जनाएको छ।
नाइमाका अनुसार नेपालमा आयात भइरहेका इभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्। एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु विश्व अटोमोबाइल उद्योगको सामान्य अभ्यास भएको संघले स्पष्ट पारेको छ।
“केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय आधार हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ।
नाइमाले हाल नेपालमा इभी मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेको जनाएको छ। यही अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न भइरहेको संघको भनाइ छ।
संघले इभी सवारी साधनको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्ने माग गरेको छ। साथै सम्बन्धित सरकारी निकायहरूबीच एकरूप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
नाइमाले विद्युतीय सवारी साधनलाई नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ। इभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा ऊर्जा र यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेको संघको दाबी छ।
संघले अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा इभी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने चेतावनी दिएको छ।
नाइमाले सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।






Comment