काठमाडौं । रामकुमारी झाँक्री ले सरकारले निजी क्षेत्रलाई काम गर्ने सहज वातावरण दिनुको सट्टा भय र त्रासको अवस्था सिर्जना गरेको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रप्रति “पहिले थुन्ने अनि पछि सुन्ने” नीति अपनाएको टिप्पणी गरिन् । यस्तो प्रवृत्तिले उद्यमी–व्यवसायीहरूमा अन्योल र आतंक सिर्जना भएको उनको भनाइ थियो ।
उनले भनिन्, “अहिले काम गर्ने वातावरण निर्माण गर्नुभन्दा मानिसहरूमा भय र त्रास फैलाउने काम भइरहेको छ । यसरी अघि बढ्दा सम्बन्धित पक्षले आफू कहाँ जाने भन्ने समेत थाहा पाउने अवस्था छैन । यसले नयाँ बाटो देखाउँदैन ।”
झाँक्रीले नेपाली जनताको परिवर्तन र रूपान्तरणको चाहना परम्परागत सोचका कारण कुण्ठित भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रममा पनि त्यही प्रवृत्ति झल्किएको बताइन् ।
त्यस्तै, सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको दाबी गरे पनि नागरिकता, राहदानी र जग्गाधनी पुर्जा वितरण मात्रै प्रभावकारी डेलिभरी नहुने उनको भनाइ थियो । उनले सबै वर्ग र समुदायका नागरिकको मानवअधिकार तथा मौलिक हक सुनिश्चित गर्न सरकारसँग आग्रह समेत गरिन् ।






Comment