लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता प्रवर्द्धनसम्बन्धी सहकार्य सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच महिला उद्यमशीलता प्रवर्द्धनसम्बन्धी सहकार्य सम्झौता



काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत सहकार्य सम्झौता गरेको छ। सम्झौता ग्लोबल डाटा व्यवस्थापन तथा लैङ्गिक तथ्यांक संकलन (सेक्स डिसअग्रिगेटेड डाटा–एसडीडी) सम्बन्धी रहेको छ।

उक्त कार्यक्रम महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वुमेन इन्टरप्रेन्योर्स फाइनान्स इनिसिएटिभ’ मार्फत सहयोग प्राप्त गर्नेछ। वे-फाइ विश्वभर महिला स्वामित्व तथा नेतृत्वमा रहेका साना तथा मझौला उद्यम (डब्लुएसएमईएस) मा लगानी र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको प्लेटफर्म हो।

यस अन्तर्गत रहेको ‘विमेन इन्टरप्रेन्योर्स फाइनान्स कोड’ वित्तीय संस्था, नियामक निकाय तथा सरोकारवाला बीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई वित्तीय पहुँच बढाई आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

सम्झौतामा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक (फाइनान्सियल इन्स्टिच्युसन्स ग्रुप–अपस्ट्रिम एन्ड एडभाइजरी) मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

सहकार्यअनुसार आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (एसडीडी) संकलन, विश्लेषण तथा उपयोग प्रणाली सुदृढ बनाउन प्राविधिक सहयोग गर्नेछ। यसले महिला स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती र अवसर पहिचान गर्न मद्दत गर्नेछ।

यस आधारमा बैंकले महिला उद्यमीका लागि थप प्रभावकारी र लक्षित वित्तीय सेवा तथा समाधान विकास गर्न सक्ने अपेक्षा गरिएको छ।

बैंकले यस सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाउने तथा महिला उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : 8 May, 2026 10:48 am