काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य गिरावट आउनुका साथै खराब कर्जा अनुपात पनि बढेको छ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले चालू आवको सोही अवधिमा भने ६७.७४ प्रतिशतले घटेर १५ करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ।
यद्यपि संस्थाको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ। समीक्षा अवधिमा यस्तो आम्दानी १ अर्ब १९ करोड ६९ लाख रुपैयाँबाट १६.५१ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। तर खुद ब्याज आम्दानी बढ्दा पनि कुल सञ्चालन आम्दानी भने २ अर्ब १० करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ६६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी (EPS) २४ रुपैयाँ ५३ पैसाबाट घटेर ७ रुपैयाँ ५४ पैसामा झरेको छ। साथै खराब कर्जा अनुपात ९.०९ प्रतिशतबाट बढेर १३.९५ प्रतिशत पुगेको छ, जसले संस्थाको कर्जा असुलीमा दबाब बढेको संकेत गरेको छ।
सार्वजनिक विवरणअनुसार संस्थाको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ४३ पैसा कायम रहेको छ भने वितरणयोग्य मुनाफा १६ करोड ५५ लाख रुपैयाँ रहेको छ।






Comment