काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँगको सहकार्यमा आज साइबर सेक्युरिटी एन्ड इन्फोर्मेसन (आईएस) अडिटसम्बन्धी एकदिने तालिम सञ्चालन गरेको छ।
पुँजी बजारमा बढ्दो डिजिटल कारोबारसँगै साइबर सुरक्षा र प्रणाली अडिटको महत्वलाई सुदृढ बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो। कार्यक्रममा सम्पूर्ण सदस्य ब्रोकरका प्रमुख कार्यकारी अधिकृत तथा आईटी प्रमुखको सहभागिता थियो।
एभरेष्ट होटलमा आयोजित तालिमका प्रमुख प्रशिक्षक कुमार पुडासैनी रहेका थिए। यसका साथै नेप्सेको आईटी महाशाखा प्रमुख निशा तिमिल्सिनाले आईटी सिस्टम तथा टीएमएससम्बन्धी व्याहारिक प्रशिक्षण प्रदान गरेकी थिइन्।
तालिमको उद्घाटन मन्तव्य दिँदै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले प्रविधिको तीव्र विकाससँगै पुँजी बजार अझ बढी डिजिटल र स्वचालित बन्दै गइरहेकोले साइबर सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले लगानीकर्ताको विश्वास जोगाउन, डाटा सुरक्षा सुनिश्चित गर्न तथा नियामकीय अनुपालनका लागि नियमित आईएस अडिट र मजबुत आईटी प्रणाली अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले वर्तमान समयमा साइबर सुरक्षाको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै सम्पूर्ण सरोकारवालाले सुरक्षासम्बन्धी नियमहरुको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको समापन मन्तव्य लीलाधर सुवेदीले राखेका थिए। उनले यस्ता तालिम कार्यक्रमले बजार सहभागीहरुलाई साइबर जोखिम व्यवस्थापनमा थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन कुलचन्द्र रिजालले गरेका थिए। कार्यक्रममा नेप्सेका महाशाखा प्रमुखहरु मुराहरी पराजुली, सागर ढुंगेल तथा आईटी शाखा प्रमुख प्रभाकर घिमिरेको पनि उपस्थिति थियो।
नेप्सेले यस्ता क्षमता अभिवृद्धि कार्यक्रममार्फत पुँजी बजारलाई अझ सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा १८० जनाको सहभागिता थियो।






Comment