काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।
गोल्छाकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश दिएको हो।
इजलासले गोल्छालाई हिरासतमा राख्नुको कारण र आधार स्पष्ट गर्न आदेश दिँदै, रिहा किन गर्नु नपर्ने हो भन्ने सम्बन्धमा प्रमाणसहित लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको छ। सीआईबीलाई बाटोको म्याद बाहेक सूचना प्राप्त भएको २४ घण्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनिएको छ।
यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
सीआईबीले गोल्छालाई गत वैशाख १० गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। उनीमाथिको अनुसन्धान नेपाल धितोपत्र बोर्डको प्रतिवेदनका आधारमा दीपक भट्टसँग सम्बन्धित धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझसँग जोडिएको बताइएको छ।






Comment