काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब २२ करोड रुपैयाँले बढी हो।
वाणिज्य बैंक बन्ने प्रक्रियामा रहेको मुक्तिनाथ विकास बैंकको नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानी बढ्नु र नोक्सानी व्यवस्थाका लागि छुट्याइने प्रोभिजन रकम घट्नुका कारण भएको हो। यद्यपि, खुद फी एण्ड कमिसन आम्दानी भने घटेको छ।
चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ४४ करोड रुपैयाँ र खुद फी एण्ड कमिसन आम्दानी ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोड रुपैयाँ प्रोभिजन गरेको बैंकले यस वर्ष ९२ करोड रुपैयाँ मात्रै प्रोभिजन गरेको छ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसाबाट बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ।
यस अवधिमा बैंकले निक्षेप करिब १ अर्ब रुपैयाँले बढाएर १ खर्ब १८ अर्ब ११ करोड रुपैयाँ र कर्जा पौने २ अर्बले बढाएर ९८ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ।
वित्तीय सूचकअनुसार बैंकको निष्क्रिय कर्जा ४.८८ प्रतिशत पुगेको छ भने बेस रेट ५.८३ प्रतिशत र ब्याजदर स्प्रेड ४.४८ प्रतिशतमा झरेको छ। यसैगरी, बैंकको रिटर्न अन इक्विटी १०.३८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा र मूल्य–आम्दानी अनुपात २४.१३ गुणा रहेको छ।
नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा ३७ करोड रुपैयाँ रहेको छ भने कुल सञ्चित नाफा करिब ४४ करोड रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको वार्षिकीकरण गरिएको लाभांश क्षमता ७.०१ प्रतिशत रहेको छ।






Comment