काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ज्योति विकास बैंक को नाफा उल्लेख्य रूपमा बढेको छ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार साउनदेखि चैतसम्मको ९ महिनामा बैंकले ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको नाफा १०५.३० प्रतिशतले वृद्धि भएको देखिन्छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा ईपीएस ९ रुपैयाँ ७९ पैसाले बढेर १९ रुपैयाँ ०९ पैसा पुगेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य रूपमा ०.७८ प्रतिशतले बढ्दै १ अर्ब ५९ करोड ६५ लाख ३३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब ५८ करोड ४१ लाख ३९ हजार रुपैयाँ थियो।
सञ्चालन मुनाफा भने उल्लेख्य रूपमा वृद्धि भई १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख २० हजार रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा सञ्चालन मुनाफा ४३ करोड ७९ लाख ६१ हजार रुपैयाँ थियो।
बैंकको इम्पेयरमेन्ट चार्जमा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष ५२ करोड १६ लाख १७ हजार रुपैयाँ रहेको यस्तो खर्च घटेर समीक्षा अवधिमा ११ करोड ८४ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ।
यद्यपि, वितरणयोग्य मुनाफा भने चैत मसान्तसम्म ४३ करोड ४८ लाख ४४ हजार रुपैयाँ ऋणात्मक रहेको छ। साथै, बैंकको खराब कर्जा अनुपात बढेर ७.८३ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब २२ करोड ३१ लाख ४७ हजार रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिसम्म बैंकले ६४ अर्ब ४९ करोड ८ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ९८ करोड ८९ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।






Comment