आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्म सहयोग



काठमाडौं । आईसीटी फाउन्डेसनले ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन, मेन्टरशिपदेखि लगानीसम्मको समग्र सहयोग प्रदान गरेको जनाएको छ । फाउन्डेसनका अनुसार नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई आवश्यक पूर्वाधार, सीप र वित्तीय पहुँच उपलब्ध गराइएको छ ।

इन्क्युबेसन कार्यक्रमअन्तर्गत स्टार्टअपहरूलाई कार्यस्थल, प्राविधिक सहयोग, व्यवसाय विकास तालिम तथा नेटवर्किङका अवसर प्रदान गरिएको छ । त्यस्तै, मेन्टरशिपमार्फत अनुभवी उद्यमी तथा विषयगत विज्ञहरूसँग प्रत्यक्ष सहकार्य गर्ने वातावरण सिर्जना गरिएको फाउन्डेसनले जनाएको छ ।

लगानी पहुँच विस्तारका लागि ‘पिचिङ’ सेसन, लगानीकर्ता–उद्यमी अन्तरक्रिया तथा साझेदारी निर्माणका कार्यक्रमहरू सञ्चालन गरिएको छ । यसबाट धेरै स्टार्टअपहरूले प्रारम्भिक चरणमै लगानी जुटाउन सफल भएको फाउन्डेसनको दाबी छ ।

सूचना प्रविधि, कृषि प्रविधि, स्वास्थ्य, शिक्षा तथा डिजिटल सेवाजस्ता विविध क्षेत्रमा काम गर्ने स्टार्टअपहरूलाई प्राथमिकतामा राखेर सहयोग विस्तार गरिएको जनाइएको छ । फाउन्डेसनका पदाधिकारीहरूले नेपालमा स्टार्टअप इकोसिस्टम क्रमशः विस्तार हुँदै गएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र लगानीकर्ताबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

आगामी दिनमा अझ धेरै नवप्रवर्तनशील स्टार्टअपहरूलाई समेट्दै रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पु¥याउने लक्ष्य फाउन्डेसनले लिएको जनाएको छ ।

प्रकाशित : 20 April, 2026 5:19 pm