सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको फौजदारी अभियोगका आधार प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन् । उनले अन्ततः मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।’ रिहाइपछि उनले आफ्नो पक्षमा आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् । साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान प्रकट गरेका छन् ।

अध्यक्ष ओलीले प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु । प्रहरी नियन्त्रणमा रहँदा म प्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु,’ उनले थप लेखेका छन् ।

उनले आफ्नो रिहाइको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन् । राज्यले उदासीनता देखाएमा आफ्नो पार्टीले उपचार खर्च बेहोर्ने जानकारीसमेत दिएका छन् । स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गराउने उल्लेख गर्दै उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित : २६ चैत्र २०८२, बिहिबार १४:३१ 9 April, 2026 2:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।