सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’



काठमाडौं । कर्णालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताको अपेक्षा र मागलाई संसदमा उठाउने प्रतिवद्धता जाहेर गरेका छन् । सोमबार पलाँता गाउँपालिकाले गरेको सम्मान कार्यक्रममा कर्णालीका समस्या र समाधानको लागि सदन र सरकारको ध्यानाकर्षण गर्ने बताए । नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटबाट निर्वाचित सांसद तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका समस्या र समाधानको उपायलाई नजिकबाट साक्षात्कार गरेको बताउँदै संसद र सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जाहेर गरे ।

उनले आफू संघीय मन्त्री र कर्णालीको मुख्यमन्त्री हुँदा पनि सकारात्मक पहल गरेको बताउँदै भने, ‘कर्णालीका समस्या र समाधानलाई नजिकबाट चिनेका छौं, केही संघीय सरकार र प्रदेशमा केही पहल लिएका थियौं, केही काम भएका थिए र बाँकी कार्यको निरन्तरता दिन पहल लिन्छौं ।’ उनले त्यसको लागि आफूले नेतृत्व गर्न तयार रहेको बताए ।

नेकपा एमाले दैलेख २ बाट निर्वाचित लक्ष्मी प्रसाद पोखरेलले कर्णाली प्रदेश पिछडिएको मात्रै नभएर संभावनाको खानी भएको बताउँदै त्यसको उचित पहिचान र हुन नभएको बताए । उनले कर्णालीका संभावनाको पहिचान गरी जनताको हितमा उपयोग गर्ने वातावरण बनाउने पर्ने बताए ।‘कर्णाली पिछडिएको मात्रै नभएर संभावनाको खानी पनि हो । राज्यले सम्भावनाको पहिचान गरी त्यहाँका जनताको आवश्यकतामा उपयोग गर्ने वातावरण नभएकै कारण कर्णाली पछि परेको हो । अब संसदमा कुरा उठाउँछौं र सरकारको ध्यानाकर्षणसँगै योजना बनाउन पहल गर्छौं’ पोखरेलले भने ।

नेपाली काँग्रेसका सांसद कालिबहादुर सहकारीले कर्णालीलाई सुनको थाली भन्दै त्यसको महत्व बुझ्न नसकिएको बताए । ‘हामी सुनको थालीमा नुन मागिरहेका छौं । अब सुनको थालीमा नुन मग्ने होइन, त्यसको सम्भावनालाई जनताको हितमा उपयोग गर्नुपर्छ, त्यसको लागि म लाग्ने छु ।’ जनताले आफूहरुसँग ठूलो अपेक्षा गरेको बताउँदै सांसद सहकारीले जनताको आशा र भरोसालाई आफूले कहिलै मर्न नदिन लागिपर्ने प्रतिवद्धता जनाए । सम्मान कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले नवनिर्वाचित सांसदहरुले कर्णालीका जनताका माग र अपेक्षालाई संसदमार्फत सरकारसमक्ष पुर्याउने विश्वास व्यक्त गरे ।

कर्णालीलाई अन्य प्रदेशहरुसँग प्रतिस्पर्धी बनाउन मुख्य चुनौती भौगोलिक विकटता रहेको बताउँदै रोकायाले भने,‘कर्णाली पछाडि हुनुको मुख्य कारण भौगोलिक हिसाबले धेरै ठाउँ अझै दुर्गम छ जसका कारण उद्योग लगभग शून्य, रोजगारीका हिसाबले वैदेशिक रोजगारमा निर्भर, स्वास्थ्यका हिसाबले जनशक्ति अभाव, उच्च शिक्षाको अवसर कम, सुरक्षित तथा शुद्ध पानीको गम्भीर समस्या छन्, यसलाई हल गर्न व्यापक काम गर्नुपर्ने छ ।’

कार्यक्रममा नेपाली काँगे्रसबाट सांसदहरु विष्णु बहादुर खड्का(सुर्खेत–१), जयपति रोकाया(हुम्ला), खड्क बहादुर बुढा(जाजरकोट), खड्क शाही(मुगु), कालिबहादुर सहकारी(कालिकोट), त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट सांसदहरु महेन्द्रबहादुर शाही(कालिकोट), गोपाल शर्मा(रुकुम पश्चिम) र पार्वती विक(जाजरकोट) थिए भने नेकपा(एमाले)बाट सांसदहरु लक्ष्मी प्रसाद पोखरेल(दैलेख–२), यशुदा कुमारी बराल(कालिकोट)लगायत सहभागी थिए ।

प्रकाशित : 6 April, 2026 3:10 pm