सदन बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस् : सांसद दुलाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सदन बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस् : सांसद दुलाल



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसदलाई गफ गर्ने थलो मात्र नभई कानून निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक संस्था भएको बताएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वमा संसदलाई कहिलेकाहीँ व्यंग्यात्मक रूपमा गफ गर्ने अखडाका रूपमा बुझिने गरिए पनि यसको मूल भूमिका कानून निर्माण र जनताको पक्षमा काम गर्नु भएको स्पष्ट पारे ।

‘संसदलाई सामन्यतया गफ गर्ने अखडाको रुपमा पनि दुनियाँमा व्यंग्यात्मक हिसावले बुझ्ने गरिन्छ । यो कानुन निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक थलो हो । तर संसदलाई हामीले कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रुपमा विकास हुँदै आएको पनि पाइएको छ । यो संसद बहुमतको मात्र होइन, सत्यको आवाज सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने तथा जनताको पक्षमा काम गर्ने थलोका रूपमा विकास होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

उनले बहुमतको आधारमा निर्णय थोपर्ने प्रवृत्ति देखिँदै आएकोप्रति चिन्ता व्यक्त गर्दै संसद सत्यको आवाज सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने थलोका रूपमा विकास हुनुपर्नेमा जोड दिए । सांसद दुलालले आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–२ का नागरिकका समस्या पनि संसदमा उठाएका छन् । उनले मतदाताले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै या त जनताको उचित व्यवस्थापन गर्न वा बाँदर नियन्त्रण गर्नुपर्ने आवाज उठाएको उल्लेख गरे ।

‘भोट दिने समयमा नागरिकहरूले कि सरकारले हामी जनतालाई लगेर पालोस् कि सरकारले बाँदरलाई कतै लगेर नियन्त्रण गरोस् भन्ने आवाज उठाउनु भएको छ,’ उनले भने ।

प्रकाशित : 6 April, 2026 1:42 pm