नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गरेका हुन् ।

‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन’, उनले भने । उनले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् भन्दै उनले यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको बताए ।

‘यसका लागि बुहपक्षीय साझेदारी अत्यावश्यक हुन्छ । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ’, राष्ट्रपति पौडेलले भने । उनले विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र संगठित रूपमा गर्दै आएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको बताए । साथै, आगामि दिनमा यो सहयोगलाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरे । भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उनको भनाई थियो ।

प्रकाशित : 6 April, 2026 1:14 pm