काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने नारा सार्वजनिक गरेको छ। दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा महासंघका महासंघका अध्यक्ष रमेश प्रसाद पोखरेलले देशभर यही थिममा आधारित भएर दिवस मनाउन आह्वान गरे।
कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले सहकारीलाई अर्थतन्त्रको तीन खम्बेमध्ये एकका रूपमा स्वीकार गरेको उल्लेख गर्दै हाल देशभर करिब ३२ हजार सहकारी संस्था र ७४–७५ लाख सदस्य आबद्ध रहेको जानकारी दिए। सहकारीले महिला सशक्तीकरण, वित्तीय साक्षरता र सामुदायिक भावना विकासमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो।
पोखरेलले वर्तमान सन्दर्भमा सहकारीहरू बचत तथा ऋणमा मात्र सीमित नभई उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले भारतको ‘अमूल’ र जापानको ‘जेए’ जस्ता सफल सहकारीहरूको उदाहरण दिँदै नेपालले पनि कृषि, पर्यटन र उद्योग क्षेत्रमा व्यावसायिक विस्तार गर्नुपर्ने बताए। साथै, सहकारीमा पारदर्शिता, नीति–विधिको पालना र स्वनियमन अपरिहार्य रहेको उनले स्पष्ट पारे।
यसै अवसरमा महासंघले ‘सहकारी सन्देश’को विशेष अंक पनि सार्वजनिक गरेको छ। जसमा कोशी प्रदेशका सहकारी गतिविधिहरू समेटिएका छन्। आगामी दिनमा अन्य प्रदेशलाई समेत समेट्दै जाने योजना रहेको महासंघले जनाएको छ।






Comment