काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणसँगै अर्थतन्त्रमा संरचनागत सुधारलाई उच्च प्राथमिकतामा राख्दै स्पष्ट रणनीतिका साथ अघि बढ्ने बताएका छन्। उनले अल्पकालीन टुक्रे योजनाभन्दा दीर्घकालीन रूपान्तरणमुखी नीतिमा केन्द्रित भएर काम गरिने स्पष्ट पारे।
अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै वाग्लेले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशामा लैजान बजेट र नीतिगत सुधारलाई एकीकृत रूपमा अघि बढाइने बताए। “अर्थतन्त्रलाई दिगो र प्रतिस्पर्धी बनाउने गरी स्पष्ट रोडम्यापसहित काम गर्छौं,” उनले भने।
पदभार ग्रहणकै अवसरमा उनले तत्काल कार्यान्वयनमा जाने तीन महत्वपूर्ण निर्णय गरेका छन्। जसअनुसार अर्थ मन्त्रालयले छिट्टै आर्थिक स्थितिपत्र सार्वजनिक गर्नेछ भने सरकारका निर्वाचन वाचा कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना तयार पारिनेछ।
त्यसैगरी, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग–२०८१ का सिफारिसका आधारमा पुराना तथा अव्यवहारिक करिब १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइने भएको छ। यसमा राजश्व अनुसन्धान विभागसँग सम्बन्धित कानुनहरू पनि समावेश छन्।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको मनोबल उकास्न र लगानीमैत्री वातावरण निर्माण गर्न विशेष ध्यान दिइने बताएका छन्। ठूला विकास आयोजनालाई गति दिन नयाँ कानुनी व्यवस्था ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने तयारी समेत अघि बढाइएको उनले जानकारी दिए।
उनले निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यमार्फत आर्थिक गतिविधि विस्तार गर्ने प्रतिबद्धता जनाउँदै समग्र सुधारलाई एकीकृत ढंगले अघि बढाइने उल्लेख गरे।






Comment