काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएपछि सो धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने शाह पहिलो व्यक्ति बनेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा भाग लिएका शाह पहिलोपटक संसद् छिरेकै दिन प्रधानमन्त्री बन्न सफल भएका हुन्। झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
को–को बने मन्त्री ?
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हालेका छन्। उनको नेतृत्वमा गठन भएको मन्त्रिमण्डलमा निम्न मन्त्रीहरू समावेश छन्:
- स्वर्णिम वाग्ले – अर्थमन्त्री
- सुधन गुरुङ – गृहमन्त्री
- शिशिर खनाल – परराष्ट्रमन्त्री
- सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री
- विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
- खड्कराज पौडेल (गणेश) – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
- सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री
- निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री
- विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्री
- प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
- दीपक साह (महोत्तरी) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
- सोविता गौतम – कानून, न्याय तथा संसदीय मामिला मन्त्री
- गीता चौधरी – कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री
- सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री






Comment