मुलुकले पाउँदैछ ३६ वर्षीय नयाँ प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुलुकले पाउँदैछ ३६ वर्षीय नयाँ प्रधानमन्त्री



काठमाडौं ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२:३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण समारोहलाई विशेष रूपमा आयोजना गरिनेछ। कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ती शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने तयारी गरिएको छ। साथै, प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने जनाइएको छ।

शपथ अघि राष्ट्रपति कार्यालयले नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी औपचारिक रूपमा गराउनेछ। समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका सदस्य, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ।

शपथ पश्चात् प्रधानमन्त्री शाहले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।
नेपालको संविधानको धारा ७६(१) अनुसार रास्वपाको एकल सरकार गठन हुन लागेको जनाइएको छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। सोही दलले बिहीबार मात्रै बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन्द्र शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए।

प्रकाशित : 27 March, 2026 7:18 am