काठमाडाै । ललितपुरमा उद्यमशीलता र नीतिनिर्माणबीचको दूरी घटाउने उद्देश्यसहित संवाद कार्यक्रम आयोजना गरिएको छ। Nepalese Young Entrepreneurs’ Forum को ललितपुर च्याप्टरले चैत ५ गते आयोजना गरेको कार्यक्रममा उद्यमी, व्यवसायी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“Discussion to Policy: Shaping Policy through Entrepreneurship Voices” शीर्षकमा आयोजित कार्यक्रममा नेपालको उद्यमशील वातावरणका चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको थियो। सहभागीहरूले व्यवसाय विस्तारमा देखिने नियामक जटिलता, नवउद्यमीका लागि वित्तीय पहुँचको कमी, नवप्रवर्तनमैत्री नीति आवश्यकताका साथै सार्वजनिक–निजी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए।
छलफलका क्रममा उत्पादन, सेवा, प्रविधि, पर्यटन तथा हस्तकला क्षेत्रमा रहेका अवसरहरू उजागर गर्दै ती क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण, बजार पहुँच विस्तार, डिजिटलीकरण र सीप विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो। विशेषगरी हस्तकला क्षेत्रलाई नेपालको सांस्कृतिक पहिचानसँग जोडिएको उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा लिँदै यसलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न थप नीति समर्थन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य उद्यमीहरूको आवाजलाई नीतिगत सिफारिसमा रूपान्तरण गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा संकलित सुझावहरूलाई NYEF ले सरकारसमक्ष पेश गर्ने “Memorandum of Request” मा समेट्ने तयारी गरिएको छ।
यस पहलमार्फत NYEF ललितपुर च्याप्टरले उद्यमी समुदाय र नीतिनिर्माताबीच सहकार्य अभिवृद्धि गर्दै उद्यममैत्री वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।






Comment