लुम्बिनी मानव सभ्यताको यात्रामा अपरिहार्य शान्तिको प्रतीक : चिनियाँ राजदूत माओमिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

लुम्बिनी मानव सभ्यताको यात्रामा अपरिहार्य शान्तिको प्रतीक : चिनियाँ राजदूत माओमिङ



लुम्बिनी । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले लुम्बिनी मानव सभ्यताको यात्रामा अपरिहार्य शान्तिको प्रतीक भएको बताएका छन् । विश्व शान्तिको केन्द्रका रूपमा रहेको लुम्बिनीमा जारी तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सवअन्तर्गत शुक्रबार लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसका अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित ध्यान कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत माओमिङले वर्तमान विश्व अस्थिरता, द्वन्द्व र अनिश्चितताले ग्रस्त बन्दै गइरहेकाले लुम्बिनी मानव सभ्यताको यात्रामा अपरिहार्य रहेको उल्लेख गरेका हुन् ।

उनले भने, “शान्ति अब केवल आदर्श नभई मानव सभ्यताको आधारभूत आवश्यकता बनेको छ । आजको चुनौतीपूर्ण विश्वमा शान्ति मानव जातिको साझा आकांक्षा मात्र होइन, सभ्यताको मूल मूल्य हो ।”

लुम्बिनी, जहाँ भगवान गौतम बुद्धको जन्म भएको हो, अहिले केवल धार्मिक आस्थाको केन्द्रमा सीमित नरही विश्व शान्तिको सार्वभौमिक प्रतीकको रूपमा स्थापित भइसकेको उनले बताए । “लुम्बिनी आज सम्पूर्ण मानवताको साझा सम्पत्ति हो, जसले शान्ति, सहअस्तित्व र करुणाको मार्ग देखाउँछ,” उनले उल्लेख गरे ।

राजदूत माओमिङले नेपाल–चीनबीचको ऐतिहासिक, सांस्कृतिक र बौद्धिक सम्बन्धलाई स्मरण गर्दै हजारौँ वर्षदेखिको बौद्ध दर्शन र प्राचीन व्यापारिक सम्पर्कले दुई देशका जनताबीच गहिरो सम्बन्ध निर्माण गरेको पनि उल्लेख गरेका छन् । चिनियाँ सभ्यताको ‘शान्तिलाई सर्वोपरि मान्ने’ दृष्टिकोण र नेपालको बौद्ध परम्पराले दिएको करुणा र समानताको दर्शनले वर्तमान विश्व संकट समाधानका लागि साझा पूर्वीय मार्ग प्रस्तुत गर्ने उनको भनाइ थियो ।

ध्यान दिवसको सन्दर्भमा उनले ध्यानलाई केवल आध्यात्मिक अभ्यास नभई आन्तरिक स्थिरता र विश्व शान्तिको आधारका रूपमा उल्लेख गरे । “मन शान्त भएमा देश शान्त रहन्छ, मन सुरक्षित भएमा सम्पूर्ण प्राणी सुरक्षित हुन्छ,” उनले भने, “ध्यानको सार जागरूकता हो र शान्तिको सार कार्य हो ।”

महोत्सवअन्तर्गत शुक्रबार मायादेवी मन्दिर परिसरमा सयौं भिक्षु, साधक तथा सहभागीहरूको उपस्थितिमा ध्यान कार्यक्रम सञ्चालन भएको हो । नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपालस्थिति चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी गराएका छन् ।

राजदूत माओमिङले यसपटकको महोत्सवले ध्यान, सांगीतिक प्रस्तुति र म्याराथनजस्ता गतिविधिमार्फत विश्व समुदायलाई शान्ति, विकास, समानता र न्यायजस्ता साझा मूल्यमा एकताबद्ध गर्ने विश्वास व्यक्त गरे । उनले चीन–नेपालबीचको मित्रता अझ सुदृढ हुँदै जाने र लुम्बिनीमार्फत विश्वमा शान्तिको सन्देश फैलिने अपेक्षा पनि व्यक्त गरेका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सवअन्तर्गत शनिबार अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिनेछ, जसले खेलकुदमार्फत शान्ति र एकताको सन्देश विश्वभर फैलाउने लक्ष्य राखेको छ ।

प्रकाशित : 20 March, 2026 1:29 pm