काठमाडौं । वाणिज्य बैंकहरूले आज अर्थात चैत महिनाबाट लागू हुने गरी मुद्दती निक्षेपमा दिने ब्याजदरमा फेरि सामान्य सामान्य कटौती गरेका छन्। नयाँ दरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा औसत ब्याजदर अघिल्लो महिनाको तुलनामा केही घटेको देखिएको हो।
आजदेखि लागू भएको दरअनुसार व्यक्तिगत ग्राहकलाई प्रदान गरिने मुद्दती निक्षेपको औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको हो। फागुनमा औसत ४.५७ प्रतिशत रहेको यस्तो ब्याजदर चैतमा झरेर करिब ४.४९ प्रतिशतमा सीमित भएको छ। संस्थागत निक्षेपतर्फ पनि यस्तै देखिएको छ। फागुन महिनामा औसत ३.३७ प्रतिशत रहेको संस्थागत मुद्दती निक्षेपको ब्याजदर चैतमा घटेर करिब ३.२९ प्रतिशतमा पुगेको छ।

विवरण अनुसार कुल वाणिज्य बैंकमध्ये ६ वटा बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। दर घटाउने बैंकहरूमा कृषि विकास बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
यता अन्य धेरै बैंकहरूले भने ब्याजदरमा कुनै परिवर्तन नगरी स्थिर राखेका छन्। एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले चैत महिनामा पनि अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।






Comment