काठमाडौं । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीयतर्फ अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–८ का बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र अन्य प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिनेछ।
त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिने कम्पनीले जनाएको छ। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीयका लागि आवेदन छिटोमा चैत २३ गते र ढिलोमा वैशाख ८ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १२ देखि २३ गतेसम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँ रहेको छ। आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।






Comment