ग्रीनलाइफ हाइड्रोपावरको नाफा २४.७४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीनलाइफ हाइड्रोपावरको नाफा २४.७४ प्रतिशतले बढ्यो

आम्दानीमा सुधार, प्रतिसेयर आम्दानी पनि उकालो



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सो अवधिसम्म १ करोड ८८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ५० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो। चालु आवमा आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको हो।

कम्पनीको आम्दानी पनि गत वर्षको तुलनामा बढेको छ। सार्वजनिक विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी ७.३५ प्रतिशतले बढेर ५ करोड २६ लाख ४२ हजार रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको आम्दानी ४ करोड ९० लाख ३९ हजार रुपैयाँ मात्र थियो। ऊर्जा उत्पादन तथा बिक्रीबाट प्राप्त आम्दानीमा भएको सुधारले कम्पनीको वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव परेको देखिन्छ। कम्पनीको वित्तीय सूचकहरूमा पनि केही सुधार देखिएको छ। दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६७ रुपैयाँबाट बढेर २.०९ रुपैयाँ पुगेको छ। यसले कम्पनीको आम्दानी क्षमतामा सुधार भएको संकेत गरेकाे छ।

त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि बढेको छ। यो सूचक १०८.१९ रुपैयाँबाट बढेर ११०.७७ रुपैयाँ पुगेको छ । जसले कम्पनीको सम्पत्ति आधार बलियो हुँदै गएको देखाउँछ। कम्पनीको पीई रेसियो भने घटेको छ। गत वर्षको सोही अवधिमा १४६.१६ गुणा रहेको पीई रेसियो चालु आवको दोस्रो त्रैमाससम्म ११९.६६ गुणामा झरेको छ।

तर, तरलता अनुपात भने उल्लेख्य रूपमा घटेको देखिन्छ। कम्पनीको तरलता अनुपात ०.१४ प्रतिशतबाट घटेर ०.०३ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 11 March, 2026 12:48 pm