समानुपातिक मतगणना अन्तिम चरणमा : रास्वपाको दबदबा, राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड पार गर्ने दलहरूको संख्या सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

समानुपातिक मतगणना अन्तिम चरणमा : रास्वपाको दबदबा, राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड पार गर्ने दलहरूको संख्या सिमित



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले बुधबार बिहान १० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार देशभर कुल १ करोड ७ लाख ३२ हजार ९३२ मत गणना भइसकेको छ।

हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलभन्दा ठूलो मतान्तरसहित अग्रता कायम राखेको छ। रास्वपाले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ, जुन गणना भएको कुल मतको करिब ४७.८६ प्रतिशत हो।

त्यस्तै, नेपाली कांग्रेस १७ लाख ४८ हजार ३३६ मतका साथ दोस्रो स्थानमा रहेको छ। कांग्रेसले कुल गणना भएको मतमध्ये करिब १६.२९ प्रतिशत मत पाएको छ। नेकपा (एमाले) १४ लाख ४८ हजार ४१२ मतसहित तेस्रो स्थानमा रहेको छ, जुन करिब १३.५० प्रतिशत हो। चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले ८ लाख ४ हजार १७१ मत अर्थात् ७.४९ प्रतिशत मत प्राप्त गरेको छ।

अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५९४ मत (३.५३ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४६६ मत (३.०७ प्रतिशत) प्राप्त गरेका छन्। यी दुवै दलले राष्ट्रिय दल बन्न आवश्यक ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्।

यता, जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३१४ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब १.६२ प्रतिशत मात्र हो। राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट जित्नुपर्ने प्रावधान छ। हालसम्मको मतपरिणाम हेर्दा जसपा नेपाल राष्ट्रिय दल बन्ने सम्भावना न्यून देखिएको छ। त्यस्तै राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९७ मत प्राप्त गरेको छ भने जनमत पार्टी ७८ हजार ९५३ मतमा सीमित रहेको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। त्यसअनुसार अब करिब २ लाख ४४ हजार मत गणना हुन बाँकी रहेको छ। हालसम्मको मत परिणामलाई विभाजक सूत्र (सेन्ट–लग विधि) अनुसार गणना गर्दा रास्वपाले समानुपातिकतर्फ ५८ सिट, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। बाँकी मत गणना सम्पन्न भएपछि आयोगले दलहरूले पाउने अन्तिम सिट संख्या सार्वजनिक गर्नेछ।

प्रकाशित : 11 March, 2026 11:32 am