३० अर्ब निक्षेप संकलन गर्ने राष्ट्र बैंकको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

३० अर्ब निक्षेप संकलन गर्ने राष्ट्र बैंकको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकले फागुन २७ गतेका लागि अनलाइन बोलकबोलमार्फत उक्त निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो।

प्रकाशित सूचनाअनुसार बोलकबोल online Bidding System Software (OBSS) मार्फत मात्रै हुनेछ। यसमा सहभागी वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरेर प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकले संकलन गर्न लागेको निक्षेप २८ दिन अवधिको हुनेछ। यसअनुसार फागुन २७ गते संकलन गरिने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी चैत २५ गते गरिनेछ। यस निक्षेप संकलनको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। अर्थात् बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरका आधारमा छनोट प्रक्रिया अघि बढाइनेछ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडका गुणकमा बोल लगाउन सक्ने व्यवस्था गरिएको छ। यसरी कुल आह्वान गरिएको ३० अर्ब रुपैयाँसम्म रकम प्रस्ताव गर्न सकिनेछ।

यदि एउटै ब्याजदरमा धेरै प्रस्ताव परेमा भने Pro-rata basis मा रकम बाँडफाँट गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउनेछन्। यसका साथै संकलन गरिएको निक्षेप अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।

प्रकाशित : 11 March, 2026 11:29 am