काठमाडौँ । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६८ प्रतिशतभन्दा बढीले बढेर १ करोड २४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४६ लाख ३२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।
तर, कम्पनीको मुख्य आम्दानीको स्रोत विद्युत् बिक्रीबाट हुने आम्दानी भने घटेको देखिन्छ। अघिल्लो वर्ष १ करोड ३० लाख रुपैयाँ रहेको विद्युत् बिक्री यस वर्ष १ करोड २० लाख रुपैयाँमा झरेको छ। यसले सञ्चालन आम्दानीमा केही कमजोरी देखाए पनि कम्पनीले अन्य स्रोतबाट आम्दानी बढाएर समग्र नतिजा सुधार गरेको छ।
विशेषगरी, यस वर्ष ८६ लाख रुपैयाँ गैर–सञ्चालन आम्दानी आर्जन गरिएको छ, जुन अघिल्लो वर्ष शून्य थियो। साथै, प्रशासनिक खर्च र वित्त खर्च दुवै घटेका छन्। प्रशासनिक खर्च करिब आधाले घटेर ८ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ भने वित्त खर्च पनि घटेर १३ लाख २९ हजार रुपैयाँमा झरेको छ। खर्च नियन्त्रणको यही प्रयासले नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
२० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सञ्चित नाफा (रिटेन्ड अर्निङ) २४ लाख रुपैयाँले धनात्मक बनेको छ। गत वर्ष यही अवधिमा १ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चित नाफा सकारात्मक हुनुलाई वित्तीय सुधारको संकेतका रूपमा हेरिएको छ।
समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ र पीई अनुपात १३८.०३ गुणा रहेको छ।






Comment