काठमाडौं — कमल कोइरालाले काठमाडौं क्षेत्र नं. १बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै सात बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।
कानुन व्यवसाय तथा अध्यापन पेशामा करिब एक दशकदेखि सक्रिय कोइरालाले आफूलाई “नेता होइन, जनताको प्रतिनिधि” का रूपमा प्रस्तुत गर्दै सुशासन, सामाजिक न्याय, मौलिक हक कार्यान्वयन र पारदर्शितामूलक शासन आफ्नो मुख्य एजेन्डा रहेको बताए।
सिन्धुलीको दुम्जामा जन्मिएका कोइरालाले मोरङको विराटनगरमा बाल्यकाल बिताई हाल काठमाडौं क्षेत्र नं. १ अन्तर्गत वडा नं. ११ बबरमहल/थापाथलीमा स्थायी बसोबास गर्दै आएका छन्। समाजशास्त्र, कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका उनले विगतदेखि नै सार्वजनिक सरोकारका विषयमा निःशुल्क बहस–पैरवी गर्दै आएको दाबी गरेका छन्।
सात बुँदे प्रतिबद्धता
कोइरालाले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा मानवअधिकार, कृषि तथा जलविद्युत विकास, सुशासन, समावेशीता, खेलकुद तथा संस्कृति प्रवर्द्धन, राष्ट्रियता र कूटनीति, डिजिटल अर्थतन्त्र तथा निर्वाचन क्षेत्र केन्द्रित स्थानीय सरोकारका मुद्दाहरू समेटिएका छन्।
उनले संविधान प्रदत्त ३२ मौलिक हक कार्यान्वयन, निःशुल्क स्वास्थ्य तथा शिक्षामा पहुँच, एक घर–एक स्वास्थ्य बीमा, राष्ट्रिय मानसिक स्वास्थ्य सेवा नीति, मेरिटोक्रेसी प्रणाली लागू गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखेका छन्।
कृषि तथा उद्योगतर्फ कृषियोग्य जमिनको वर्गीकरण, करार खेती, जैविक खेती प्रवर्द्धन, जलविद्युत तथा निर्यातमुखी उद्योग प्रवर्द्धन, स्टार्टअपलाई सहुलियत कर्जा र कर छुट दिने नीति अघि सारेका छन्।
सुशासन र न्यायका सवालमा अनलाइन तथा मोबाइल–आधारित सेवा प्रवाह, २४ घन्टे हटलाइन, इमर्जेन्सी अदालत, जेन्डर न्युट्रल कानुन तथा समावेशी आयोग गठनको प्रस्ताव गरिएको छ।
त्यस्तै, लुम्बिनी–पशुपति–जनकपुर धार्मिक सर्किटमार्फत पर्यटन प्रवर्द्धन, सम्पदा संरक्षण, डिजिटल आर्काइभ निर्माण, वातावरणीय न्याय सुनिश्चित गर्ने नीति पनि समावेश गरिएको छ।
डिजिटल अर्थतन्त्रअन्तर्गत ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स, ई–भोटिङ, डिजिटल रुपैयाँ, साइबर सुरक्षा र डेटा संरक्षणसम्बन्धी कानुन निर्माण गर्ने योजना उनले अघि सारेका छन्।
स्थानीय स्तरमा सुरक्षित सार्वजनिक यातायात, स्मार्ट ट्राफिक व्यवस्थापन, मेलम्ची खानेपानीको दिगो वितरण, फोहोर वर्गीकरण तथा रिसाइकल प्रणाली, सीपमूलक तालिममार्फत रोजगारी सिर्जना लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
“पदका लागि होइन, पद्धतिका लागि” भन्ने नारासहित चुनाव चिन्ह ‘क्याप’ लिएर मैदानमा उत्रिएका कोइरालाले पारदर्शी र जवाफदेही शासन स्थापनाका लागि मतदातासँग जनसमर्थनको अपिल गरेका छन्।






Comment