निर्वाचन लक्षित गर्दै डिजे र मदिरामा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निर्वाचन लक्षित गर्दै डिजे र मदिरामा प्रतिबन्ध



काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महोत्तरी जिल्लामा डिजे र मदिरा माथि प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यस्तो निर्णय गरिएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलद्वारा जारी सूचनमा भनिएको छ, ‘ध्वनि प्रदूषण नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न जुलुस, र्‍याली, आमसभा तथा सार्वजनिक स्थलमा ठूला लाउडस्पीकर, डिजे साउन्ड सिस्टम र अन्य ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोगमा रोक लगाइएको छ।’

प्रशासनले निर्वाचन प्रचारप्रसारको क्रममा ग्रामीण र शहरी क्षेत्रमा अत्यधिक स्वरमा डीजे बजाइँदा विद्यार्थीको अध्ययनमा असर पर्ने, ज्येष्ठ नागरिक तथा बिरामीको स्वास्थ्यमा समस्या देखिने र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पर्न सक्ने अवस्था देखिएको जनाएको छ ।

प्रतिबन्ध स्थानीय प्रशासन ऐन, २०२८ अनुसार फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्म लागु हुने व्यवस्था गरिएको छ। प्रशासनले चेतावनी दिँदै उल्लंघन गरेको खण्डमा सम्बन्धित उपकरण जफत गरिने र प्रचलित कानूनअनुसार कारबाही गरिने जनाएको छ।

यसैगरी, निर्वाचनको समयमा सार्वजनिक शान्ति र सुव्यवस्थित वातावरण सुनिश्चित गर्न मदिरा बिक्री–वितरण तथा सार्वजनिक सेवनमा पनि रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार, ‘फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक सेवन पूर्ण रूपमा निषेध गरिएको छ। उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिनेछ।’

जिल्ला प्रशासनले सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको जनाएको छ।

प्रकाशित : 23 February, 2026 6:51 pm