पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरेकी छन्। पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले राष्ट्र निर्माणमा सक्रिय योगदान गर्न विद्यार्थीहरुलाई आह्वान गरेकी हुन्।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षान्त केवल शैक्षिक यात्राको औपचारिक समापन नभई जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानबिन्दु भएको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले उच्च शिक्षा हासिल गरेका युवाहरूले आफ्नो ज्ञान र सीपलाई व्यक्तिगत उन्नतिमा मात्र सीमित नराखी राष्ट्र र समाजको समुन्नतिमा प्रयोग गर्नुपर्नेमा समेत जोड दिइन ।
प्रधानमन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि दक्ष, इमान्दार र जिम्मेवार जनशक्तिको आवश्यकता औंल्याउँदै नवप्रवर्तन, उद्यमशीलता र अनुसन्धानमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् । बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी र सक्षम बन्न नवीन प्रविधिसँग अनुकूल हुन युवाहरूलाई सुझाव दिँदै उनले विश्वविद्यालयहरूले समयसापेक्ष, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्नुपर्ने बताइन् ।
प्रधानमन्त्रीले अध्ययन पूरा गरेलगत्तै ठूलो संख्यामा युवाहरू विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा विश्वविद्यालय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् । पाठ्यक्रम र पठन पद्धतिलाई उद्यमशीलता तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिइन ।
लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवद्र्धन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि आगामी निर्वाचनमा सक्रिय सहभागिताको लागि पनि प्रधानमन्त्रीले आह्वान गरिन् । समारोहमा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।






Comment