काठमाडौँ । गगनकुमार थापा ले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित योजना तयार गरिएको बताएका छन्। उनले संविधानमा व्यवस्था गरिएको रोजगारीसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यले संकल्पपत्र निर्माण गरिएको जानकारी दिए।
नेपाली कांग्रेस ले सञ्चालन गर्दै आएको ‘मिसन रोजगारी’ कार्यक्रमलाई निरन्तरता दिँदै कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधि लगायत क्षेत्रगत आधारमा रोजगारी सिर्जना गरिने उनले बताए। साथै करिब ५ हजार युवालाई लक्षित विशेष कार्यक्रमसमेत तयार गरिएको उनको भनाइ छ, जुन संसद वा सरकार दुवै तहबाट कार्यान्वयन गरिनेछ।
थापाले युवाको डिजिटल स्वतन्त्रता र सिर्जनशीलताको सम्मान गर्ने नीति कांग्रेससँग रहेको उल्लेख गरे। अहिलेका युवामा कला, साहित्य र विविध सिर्जना भए पनि बजार अभावका कारण त्यसको उचित मूल्य नपाइरहेको अवस्था अन्त्य गर्ने योजना बनाइएको उनले बताए। युवाको सीप र शिक्षालाई बजारअनुकूल बनाउँदै दक्षता अभिवृद्धि गर्न आवश्यक कार्यक्रम ल्याइने उनले जोड दिए।
विदेश पलायन भइरहेका दक्ष जनशक्तिलाई स्वदेशमै फर्काएर संस्थागत रूपमा काम गर्ने वातावरण बनाउने ‘ब्रेन गेन’ रणनीति पनि अघि सारिएको छ। यसले जनशक्ति पलायन घटाउँदै देशभित्रै अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।
भ्रष्टाचार नियन्त्रणका विषयमा बोल्दै थापाले आगामी पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने लक्ष्य लिइएको बताए। भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता, पद वा राजनीतिक हैसियत नहेरी कारबाही गरिने स्पष्ट पार्दै उनले २०४७ साल यताका जुनसुकै दलका नेतामाथि पनि छानबिन हुन सक्ने धारणा राखे।
सार्वजनिक सेवा प्रवाहलाई कार्यालय केन्द्रित नभई नागरिक केन्द्रित बनाइने उनको भनाइ छ। तोकिएको समयभित्र सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था लागू गरिने र ढिलाइ भए नागरिकलाई क्षतिपूर्ति दिने प्रणाली विकास गरिने उनले बताए। साथै ७ दिन २४ घण्टा उपलब्ध हुने डिजिटल सार्वजनिक सेवा विस्तार, आवश्यक कानुन संशोधन, प्रविधि प्रयोग र घरमै सेवा पुर्याउने व्यवस्था मिलाइने योजना कांग्रेसले अघि सारेको उनले जानकारी दिए।






Comment