काठमाडौं । निर्वाचन अवधिमा प्रकाशित एक समाचारलाई लिएर निर्वाचन आयोगले अनलाइन सञ्चारमाध्यम सेतोपाटी डटकम विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले उक्त विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको जनाएको छ।
आयोगका अनुसार चितवन–३ निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै प्रकाशित ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ शीर्षकको सामग्री निर्वाचन आचारसंहिता विपरीत देखिएको ठहर गरिएको हो। निर्वाचन प्रक्रियामा असर पार्ने सम्भावना रहने गरी मत परिणामसम्बन्धी दाबी वा सर्वेक्षण सार्वजनिक गर्नु कानुनी व्यवस्थासँग मेल नखाने आयोगको भनाइ छ।
आयोगले स्मरण गराएको छ कि उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत परिणामसम्बन्धी सर्वेक्षण सञ्चालन गर्ने, त्यसको नतिजा सार्वजनिक गर्ने वा प्रकाशन–प्रसारण गर्ने कार्य निषेधित छ। साथै, निर्वाचन अवधिमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रभाव पार्ने आशयका सामग्री प्रकाशन गर्न नपाइने प्रावधान पनि रहेको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (त) तथा दफा २५ (१) (ख) विपरीत सामग्री प्रकाशित भएको निष्कर्षसहित आयोगले प्रेस काउन्सिललाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।







Comment