३१ बुँदे प्रतिबद्धताको हिसाबसहित मैदानमा विनोद चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

३१ बुँदे प्रतिबद्धताको हिसाबसहित मैदानमा विनोद चौधरी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

परासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।

०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेका हुन् ।

जेन–जी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन जनतामाझ राखेका छन् ।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन् ।

उनले भने, ‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधुन् भन्ने चाहन्छु । जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो । प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं। देश बदल्छौं भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौँ। त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु ।’

चौधरीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपी उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ ।

उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन् ।

प्रकाशित : २९ माघ २०८२, बिहिबार १५:३१ 12 February, 2026 3:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।