काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म हिमालयन लाइफ इन्स्योरेन्सले २० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म आइपुग्दा नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.०६ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफामा उल्लेख्य गिरावट आए पनि कम्पनीको जीवन बीमा कोषको आकार भने विस्तार भएको छ। अघिल्लो वर्ष पुस मसान्तमा ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ रहेको कोष १७.७५ प्रतिशतले बढेर चालू वर्ष ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ८ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.३१ प्रतिशतले बढी हो। यस्तै, खुद बीमाशुल्क आर्जन पनि ४.३० प्रतिशतले वृद्धि भई ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ पुगेको छ।
नाफा घटेसँगै अन्य वित्तीय सूचकहरूमा पनि दबाब देखिएको छ। ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ११.४१ रुपैयाँबाट घटेर ४.५२ रुपैयाँमा झरेको छ।
कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९४ करोड ७६ लाख रुपैयाँ संचित रहेको छ। अन्य इक्विटी भने ७७ करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको विवरणमा उल्लेख छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १०६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८०.६९ गुणा कायम भएको छ।






Comment