नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल



नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गते प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको माघ २३ गतेको नियुक्ति पत्रबाट उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् ।

उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरि २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताइन् ।

उनी कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने विचार व्यक्त गरिन् ।

आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै उनले आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरुलाई आह्वान गरिन् ।

प्रकाशित : 6 February, 2026 4:02 pm