विप्रेषणको बलमा अर्थतन्त्र उकासिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विप्रेषणको बलमा अर्थतन्त्र उकासिँदै



काठमाडाै । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको तथ्याङ्कले मुलुकको अर्थतन्त्रमा सुधार र स्थिरता देखिएको छ ।

विगतका वर्षहरूमा दबाबमा रहेको बाह्य क्षेत्र अहिले इतिहासकै सबैभन्दा बलियो अवस्थामा पुगेको देखिएको छ भने आम नागरिकको दैनिकीसँग जोडिएको मुद्रास्फीति (महँगी)मा गिरावट आएको छ ।

केन्द्रीय बैंकको तथ्याङ्कमा समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाहमा देखिएको बढोत्तरीले अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख छ ।

विशेषगरी, महँगी नियन्त्रणमा आउँदा र ब्याजदर घट्दा लगानी र उपभोगको वातावरण सहज बन्दै गएको देखिन्छ ।

अघिल्लो वर्षको पुस महिनामा ५.४१ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति यस वर्षको सोही अवधिमा २.४२ प्रतिशतमा झरेको छ ।

अझ रोचक पक्ष त के छ भने, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक अर्थात् -०.०९ प्रतिशत रहेको छ ।

घिउ, तेल, तरकारी तथा मासुजन्य वस्तुको मूल्यमा आएको कमीले भान्छाको लागत घटाउन मद्दत गरेको प्रतिवेदनले देखाएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि ३.८१ प्रतिशतमा सीमित छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर निकै सामान्य थियो ।

अमेरिकी डलरमा समेत विप्रेषण ३२.३ प्रतिशतले बढेको छ । यसरी भित्रिएको ठूलो परिमाणको विदेशी मुद्राले मुलुकको चालु खाता र शोधनान्तर स्थितिलाई निकै बलियो बनाएको हो ।

चालु खाता ४ खर्ब २९ अर्ब रुपैयाँले बचतमा हुनु र शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब रुपैयाँले बचतमा रहनुले मुलुकको बाह्य वित्तीय स्वास्थ्य राम्रो रहेको देखाउँछ ।

विप्रेषण बढेपछि विदेशी विनिमय सञ्चिति पनि नयाँ उचाइमा पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनाको अवधिमा २१.१ प्रतिशतले बढेर ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यो सञ्चितिले १८ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ ।

वित्तीय बजारमा पनि तरलताको सहजता र ब्याजदरमा आएको कमीले सकारात्मक सन्देश प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन ५.७ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.६ प्रतिशतले विस्तार भएको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.१२ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्ष कर्जाको ब्याजदर ८.६९ प्रतिशत रहेकोमा अहिले आएको यो गिरावटले उद्यमी तथा व्यवसायीहरूलाई राहत मिलेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक व्यापारतर्फ पनि मिश्रित तर सकारात्मक नतिजा देखिएको छ । कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने आयात पनि १४.२ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।

निर्यातमा भएको उल्लेख्य वृद्धिले व्यापार घाटाको वृद्धिदरलाई केही हदसम्म नियन्त्रण गर्न खोजेको देखिन्छ, यद्यपि व्यापार घाटा १०.१ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब पुगेको छ ।

प्रकाशित : 2 February, 2026 6:06 pm