सिन्धुली सडक पुनर्निर्माण र कोटेश्वर अन्डरपास बनाउने जापानको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिन्धुली सडक पुनर्निर्माण र कोटेश्वर अन्डरपास बनाउने जापानको निर्णय



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्। नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक विश्वासिलो र महत्वपूर्ण विकास साझेदारका रूपमा रहेको उनले उल्लेख गरे।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले गरेको शिष्टाचार भेटका क्रममा उनले नेपालको विकास प्रक्रियामा जापानले खेलेको भूमिकाको उच्च मूल्यांकन गरे। राष्ट्रपति पौडेल जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहित चारदिने भ्रमणमा जापानमा रहनुभएको हो। यो भ्रमण नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा गरिएको हो।

राष्ट्रपति पौडेलले मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण तथा संस्कृति जगेर्नाका क्षेत्रमा जापानले निरन्तर सहयोग गर्दै आएको बताउँदै ती क्षेत्रमा जापानको अनुभव, ज्ञान र प्रविधिबाट नेपाल अझै लाभान्वित हुन चाहेको धारणा व्यक्त गरे।

सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्रको श्रेणीबाट स्तरोन्नति हुँदै गर्दा जापानको सद्भाव र सहयोग निरन्तर प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे। साथै, नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानीका लागि ठूलो सम्भावना रहेको र व्यापार तथा लगानीमैत्री वातावरण बनाउन कानुनी तथा संस्थागत सुधार गरिसकिएको उनले जानकारी दिए।

दुई देश गौतम बुद्धको शिक्षाबाट सांस्कृतिक रूपमा प्रेरित रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानबीच जनस्तरको सम्बन्ध मजबुत बनाएको बताए। लुम्बिनी विकासमा जापानले दिएको सहयोगप्रति उनले आभार पनि व्यक्त गरे। साथै, जापानमा कार्यरत नेपाली समुदायको योगदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनेको उनको भनाइ थियो।

सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको संरक्षणमा खेलेको भूमिकाको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा भएको बताए। उनले नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापान सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे।

राज्यमन्त्री इवाओले नेपालको शान्ति र स्थायित्व यस क्षेत्रकै शान्ति र विकाससँग जोडिएको उल्लेख गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने जापानको चाहना रहेको बताए। साथै, बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको पुनर्निर्माण तथा कोटेश्वरको ट्राफिक जाम न्यूनीकरणका लागि अन्डरपास निर्माण गर्ने निर्णय जापान सरकारले गरिसकेको जानकारी पनि दिए।

प्रकाशित : 2 February, 2026 3:24 pm