काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाको भावी नेतृत्व विकासलाई लक्षित गर्दै दुईदिने नेतृत्व पूर्व तालिम (फिट एण्ड प्रपर टेष्ट) सम्पन्न गरेको छ। बिगतका वर्षहरुदेखि निरन्तर सञ्चालन हुँदै आएको उक्त तालिम यस वर्ष २०८२ माघ १६ र १७ गते सम्पन्न भएको हो।

संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिहरुमा भविष्यमा नेतृत्व गर्न इच्छुक, बिनियम र निर्वाचन नियमावलीअनुसार आवश्यक योग्यता पूरा गरेका शेयर सदस्यहरुलाई लक्षित गरी तालिमको व्यवस्था गरिएको संस्थाले जनाएको छ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०१३ मा प्रकाशित ‘ब्लुप्रिन्ट फर अ कोअपरेटिभ डिकेड’ मा सहकारीका भावी नेतृत्वलाई पूर्व तालिम आवश्यक पर्ने उल्लेख गरेअनुसार संस्थाले उक्त अवधारणालाई आत्मसात् गर्दै बिनियम तथा निर्वाचन नियमावलीमार्फत स्वीकृति लिएर तालिम सञ्चालन गर्दै आएको हो।

संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमका अनुसार नेपालमा यस्तो तालिमको सुरुवात मिलिजुली कालिञ्चोक साकोसले गरेको हो। उनले यो अभ्यास अन्य सहकारी संस्थाका लागि पनि उपयोगी हुने उल्लेख गर्दै नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागजस्ता नियमनकारी निकायले यस्ता तालिमलाई सबै संस्थामा अनिवार्य गर्नुपर्ने धारणा राख्नुभयो।
तालिमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन कार्यक्रम बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन तथा समापन दुवै कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले गर्नुभएको थियो।

तालिममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग रहेको थियो। नेफ्स्कून तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सिनाले सहजीकरण गर्नुभएको उक्त तालिममा पुरुष ३४ जना र महिला १९ जना गरी जम्मा ५३ जनाको सहभागिता रहेको थियो।
राज्यको सहकारी ऐनले सञ्चालक समितिको काम, कर्तव्य र अधिकारमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार संस्था सञ्चालन, आर्थिक तथा प्रशासनिक कार्य, साधारणसभा आह्वान र निर्णय कार्यान्वयन, नीति, योजना, बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा, सदस्यता व्यवस्थापन, विनियम तथा आन्तरिक कार्यविधि निर्माण लगायत विषय स्पष्ट गरेको छ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारीमा नियमित आन्तरिक लेखापरीक्षण, वित्तीय कारोबारको निरीक्षण र मूल्यांकन, समितिको कार्यको सुपरिवेक्षण, निर्णय कार्यान्वयनको परीक्षण, वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा आवश्यक अवस्थामा विशेष साधारणसभा सिफारिस गर्नेसम्मका व्यवस्था रहेको छ।
यी सम्पूर्ण व्यवस्था र जिम्मेवारीबारे नेतृत्वमा जानुअघि नै स्पष्ट जानकारी हुनु आवश्यक रहेको मान्यताअनुसार संस्थाको वार्षिक साधारणसभाले भावी सम्भावित नेतृत्वका लागि पूर्व तालिम अनिवार्य गर्ने व्यवस्था बिनियममा समावेश गरी सम्बन्धित नियमनकारी निकायबाट स्वीकृति लिएर कार्यान्वयनमा ल्याइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो।
संस्थाका व्यवस्थापक रमेश सापकोटाका अनुसार वर्तमान अवस्थामा सहकारी नेतृत्वले सहकारीका सिद्धान्त, संघीय, प्रदेश र स्थानीय ऐन–नियम, पल्र्स अनुगमन प्रणाली, सम्पत्ति शुद्धिकरण निवारण कानून, प्रविधिको प्रयोग, संस्थागत सुशासन, स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, एनएफआरएस विधि, मानव संशाधन व्यवस्थापन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय असल अभ्यासजस्ता विषयमा ज्ञान हासिल गर्न आवश्यक छ। यिनै विषयमा भावी नेतृत्वलाई पूर्वतयारी अवस्थामा राख्न तालिम आयोजना गरिएको हो।





Comment