सात दिनको समाचारले नीति बदलिन्छः सहकारी बैंक अध्यक्ष गिरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सात दिनको समाचारले नीति बदलिन्छः सहकारी बैंक अध्यक्ष गिरी



काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले सहकारी क्षेत्रका विषयमा नीति संवाद कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बुधबार बैंकको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सीजेएनको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष गिरीले सहकारीसम्बन्धी नीति निर्माणमा सकारात्मक प्रभाव पार्ने किसिमका कार्यक्रम सञ्चालन गर्न सीजेएनसँग आग्रह गरेका हुन्।

उनले हाल मुलधारका सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारकै आधारमा राज्यले सहकारीसम्बन्धी नीति तय गर्ने प्रवृत्ति बढेको गुनासो गरे। “मुलधारको मिडियामा कुनै समाचार निरन्तर सात दिनसम्म आयो भने त्यसले राज्यको नीति नै प्रभावित पार्ने अवस्था देखिन्छ,” उनले भने, “कतिपय अवस्थामा विषय नबुझी लेखिएका समाचारका कारण सहकारी क्षेत्र अनावश्यक रुपमा बदनाम हुने गरेको छ।”

अध्यक्ष गिरीले सहकारी बिटमा कलम चलाउने पत्रकार तथा सञ्चारमाध्यमले तथ्य र आधारहीन समाचारको प्रतिवाद गर्न सरोकारवालाको सहभागितामा नीति संवाद कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। साथै, सहकारी अभियानमा उदाहरणीय काम गरिरहेका संस्थाका असल अभ्यास उजागर गर्न अध्ययन तथा अनुसन्धानमूलक पत्रकारिता प्रवर्द्धन गर्नुपर्ने बताए। सीजेएनले सातै प्रदेशमा सञ्जाल विस्तार गर्नुपर्ने सुझाव पनि उनले दिए।

सहकारी क्षेत्रको गिरेको साख उकास्न जिम्मेवार, निष्पक्ष र सक्रिय पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले सहकारीको विकास, प्रवर्द्धन, सुशासन र पारदर्शितामा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए। बैंकले लामो समयदेखि सीजेएनसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष गिरीले आफूले नेतृत्व सम्हालेपछि बैंकको वित्तीय अवस्था सुधारलाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै विगतमा करिब पाँच अर्ब रुपैयाँ पुगेको निष्क्रिय कर्जा असुलीमा उल्लेखनीय प्रगति भएको बताए।

यसै अवसरमा बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियानलाई मजबुत बनाउन निष्पक्ष, तटस्थ र यथार्थपरक समाचार सम्प्रेषण आवश्यक रहेको बताए। सकारात्मक समाचारको प्रवाहले सहकारी क्षेत्रको विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

सीजेएनका नवनिर्वाचित अध्यक्ष अर्जुन खतिवडाले सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै बैंकसँगको सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। सहकारी अभियानलाई बलियो बनाउँदै सुधारका लागि संस्थागत सहकार्यका साथ अघि बढ्ने उनले बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सञ्चालन गरेको कार्यक्रममा बैंकका विभिन्न डिभिजन प्रमुखहरू, सीजेएनका संस्थापक तथा पूर्व अध्यक्षहरू, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाशित : 29 January, 2026 3:37 pm