काठमाडौँ । सेयर बजारमा फर्जी कारोबारमार्फत सर्वसाधारणको अर्बौँ रुपैयाँ डुबाएको आरोप लागेका चर्चित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।
जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका अग्रवालसहितको समूहलाई एमालेले औपचारिक कार्यक्रममार्फत पार्टीमा भित्र्याएको हो। कार्यक्रममा एमालेका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको बताइएको छ।
यद्यपि अग्रवाल सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाउने, झुटो कारोबार देखाउने तथा बजारलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपका कारण लामो समयदेखि विवादमा रहँदै आएका छन्। ती आरोपका विषयमा हाल पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
यसअघि काठमाडौं प्रहरी परिसरले उनलाई गत ५ साउन टोखाबाट पक्राउ गरेको थियो। करिब १० दिनसम्म हिरासतमा राखी सोधपुछ गरेपछि आवश्यक परेमा तत्काल उपस्थित हुने सर्तमा १४ साउन २०८२ मा हाजिरी जमानतमा रिहा गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
अग्रवालको पार्टी प्रवेशसँगै राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् भने सेयर बजारसँग सम्बन्धित सरोकारवालाहरूले पनि घटनाक्रमलाई चासोका साथ हेरिरहेका छन्।




Comment