कांग्रेसमा नेतृत्व लिन कति तिर्नुपर्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

कांग्रेसमा नेतृत्व लिन कति तिर्नुपर्छ ?



काठमाडौं । भृकुटीमण्डप आज नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनको केन्द्र बनेको छ। नयाँ नेतृत्व चयनका लागि जुटेको पार्टीले उम्मेदवारी मनोनयन दर्तादेखि मतदानसम्मको सम्पूर्ण प्रक्रिया एकै दिनमा अघि बढाएको छ। यससँगै उम्मेदवारी दर्ताका लागि लाग्ने शुल्क पनि सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार सभापति पदका लागि उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति र महामन्त्री पदमा प्रतिस्पर्धा गर्न चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ भने सहमहामन्त्री पदका उम्मेदवारका लागि २० हजार रुपैयाँ निर्धारण गरिएको छ। केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका, २०८२’ अनुसार शुल्क र प्रक्रिया तय गरिएको जानकारी दिएका छन्।

आजको कार्यतालिका अनुसार दिउँसो १२:३० बजे प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको थियो। त्यसपछि दाबी–विरोध र छानबिनको चरण पूरा गरी अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ। उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म समय तोकिएको छ।

मनोनयन दर्ता सकिएपछि उम्मेदवारहरूको प्रारम्भिक नामावली देवनागरी वर्णानुक्रम अनुसार सार्वजनिक गरिनेछ। साँझ ७ बजेसम्म दाबी–विरोध र छानबिनको प्रक्रिया टुंग्याएर राति ८:४५ बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

अन्तिम नामावली सार्वजनिक भएलगत्तै राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ। मतदान सकिएपछि तत्काल मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहँदा कांग्रेसभित्र संस्थापन र इतर धारका नेताहरू रणनीति निर्माण र आन्तरिक छलफलमा सक्रिय देखिएका छन्। भृकुटीमण्डपमा आजको दिन केवल मतदानको मात्र होइन, पार्टीको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण घडीका रूपमा हेरिएको छ।

प्रकाशित : 13 January, 2026 3:15 pm