ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव: सीएसआरअन्तर्गत १९ प्रभावकारी कार्यक्रम घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव: सीएसआरअन्तर्गत १९ प्रभावकारी कार्यक्रम घोषणा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत देशव्यापी रूपमा १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले वार्षिकोत्सवलाई सामाजिक योगदानसँग जोड्दै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिमा केन्द्रित कार्यक्रम अघि सारेको हो ।

बैंकले यसअघि १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजारभन्दा बढी बिरुवा रोपण गर्ने घोषणा गरेको थियो । स्थानीय तह, संघ–संस्था तथा समुदायसँगको सहकार्यमा करिब २१ हजार बिरुवा रोपण गर्दै वातावरण संरक्षण तथा जीविकोपार्जनमा योगदान पुर्‍याएको थियाे ।

१९औँ वार्षिकोत्सवका अवसरमा बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गर्दै सातै प्रदेश समेटिने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ प्रमुख आकर्षण

घोषित कार्यक्रमहरूमध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको छ । यसअन्तर्गत सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरमा स्त्रीरोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार तथा आवश्यक औषधि वितरण गरिने जनाएकाे छ ।

शिविरका क्रममा प्रारम्भिक रूपमा पहिचान भएका तथा गम्भीर अवस्थाका बिरामी महिलाको दोस्रो चरणमा शल्यक्रिया उपचारसमेत गरिने बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् ।

आँखा उपचारदेखि स्वास्थ्य सेवा विस्तार

बैंकले सातै प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नेछ । आर्थिक अभावका कारण उपचार नपाएका गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यस कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छ ।

यसैगरी, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० विद्यार्थीको आँखा परीक्षण गरी आवश्यक चश्मा निःशुल्क वितरण गरिनेछ । सातै प्रदेशमा थप स्वास्थ्य शिविर सञ्चालन गरी न्यून आय भएका समुदायलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने भएकाे छ ।

जटिल तथा दीर्घ रोगका बिरामीलाई स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोगसमेत उपलब्ध गराउने बैंकले जनाएको छ ।

शिक्षा, वातावरण र सीप विकासमा जोड

शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रा लाभान्वित भइसकेको यस कार्यक्रममा यस वर्ष थप ७७ छात्रा समावेश गर्ने भएकाे छ ।

दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १,००० विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण कार्यक्रम पनि सञ्चालन गर्ने भएकाे छ । साथै, अर्थशास्त्र, व्यवस्थापन र कानुन संकायमा उच्च शिक्षा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ ।

वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापनसम्बन्धी तालिमसमेत सञ्चालन गरिने बैकले जनाएकाे छ ।

वित्तीय साक्षरता र सामाजिक अभियान

मुख्य शहरहरूमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने आश्रम तथा बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग प्रदान गर्ने भएकाे छ । बालबालिकामा देखिँदै आएको अटिजमबारे चेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ ।

युवालाई स्वस्थ र अनुशासित बनाउँदै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले दुर्गम क्षेत्रका विद्यालय तथा समुदायमा खेलकुद सामग्री वितरण गरिनेछ । आयआर्जन क्षमता अभिवृद्धिका लागि ‘उद्यमशाला’ कार्यक्रममार्फत व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गर्ने भएकाे छ ।

बैंकले आफ्ना ३५२ वटै शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै बैंकिङ प्रणालीमा पहुँच विस्तार गर्ने जनाएको छ ।

प्रकाशित : 2 January, 2026 3:01 pm