राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थ राजनीति

राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपाल राष्ट्रलाई कठिन मोडबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताए ।

भट्टराईले अहिलेको सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावका रूपमा मात्र हेर्न नहुने उल्लेख गरे । ‘यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छौँ, यस अवस्थालाई सही दिशामा लैजान गम्भीर समीक्षा र धैर्य अनिवार्य छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले यही पृष्ठभूमिमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेण्डा आफूहरुले अघि सारेको बताए । उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय र आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उनको भनाइ छ ।

‘हामीले अघि सारेको प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको छ, आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ,’ उनले भने ।

उनले पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गर्दै एमालेको एकता जोगाउने दिशामा आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्न आग्रह गरे ।

‘म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु,’ भट्टराईको अनुरोध छ । उपमहासचिव भट्टराईले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गरे ।

प्रकाशित : 31 December, 2025 10:45 am